एउटा कुरा मैले कहिल्यै बुझ्न सकिनँ।
कुनै एक जनाले एउटा मानिससँग राम्रो अनुभव गरेन भने, त्यो अनुभव अर्कोका लागि पनि त्यही मानिसको वास्तविक चरित्र वा अन्तिम सत्य कसरी बन्छ?
"ऊ घमण्डी छ।"
"ऊ अप्ठ्यारो स्वभावको छ।"
"ऊसँग नजिक नहुनु। ऊ ठिक छैन "
जस्ता वाक्य हामी कति सजिलै स्वीकार गरिदिन्छौँ।
अनि अझ रोचक कुरा के छ भने, त्यसपछि हामी त्यो मानिसलाई आफ्नै आँखाले हेर्न छोड्छौँ। उसलाई अरूले बनाइदिएको दृष्टिकोण, सुनाइदिएको परिचय र तयार पारिदिएको छविबाट चिन्न थाल्छौँ।
कहिलेकाहीँ लाग्छ, हामी मानिसलाई होइन, उसको बारेमा सुनिएको कथा भेट्न जान्छौँ।
यदि कसैले पहिले नै भनिदियो, "ऊ धेरै घमण्डी छ", त्यसपछि उसको मौनता पनि घमण्ड जस्तो देखिन थाल्छ।
यदि कसैले भनिदियो, "ऊ धेरै राम्रो छ", त्यसपछि उसका कमजोरीहरू पनि सामान्य लाग्न थाल्छन्।
एउटै व्यवहार। एउटै व्यक्ति।फरक केवल हाम्रो दृष्टिकोण हुन्छ। सायद त्यसैले प्रश्न उठ्छ:
के हामी वास्तवमै मानिसलाई आफनै हिसाबले चिनेका हुन्छौँ, कि पहिले नै उसको बारेमा बनाइएको छवि र धारणाअनुसार उसको हरेक व्यवहारको अर्थ लगाइरहेका हुन्छौँ?
मलाई एउटा कुरा अनौठो लाग्छ।
एउटै व्यक्ति कसैको सबैभन्दा मिल्ने साथी हुन सक्छ।
त्यही व्यक्ति कसैको मन नपर्ने मान्छे पनि हुन सक्छ।
कसैका लागि ऊ सहयोगी हुन्छ।
कसैका लागि चिसो स्वभावको।
कसैका लागि धेरै बोल्ने।
अर्काका लागि कम बोल्ने।
कसैका लागि खुल्न गाह्रो।
सोच्नुहोस् त, एउटै मानिससँग पनि सबैको अनुभव कति फरक–फरक हुन सक्छ, होइन र?
यति फरक अनुभव हुँदाहुँदै पनि हामी किन कुनै एक जनाको अनुभवलाई अन्तिम सत्यजस्तै स्वीकार गरिदिन्छौँ?
हरेक सम्बन्धको आफ्नै कथा हुन्छ। हरेक भेटको आफ्नै सन्दर्भ हुन्छ। हरेक मानिसले अर्को मानिसको एउटा पाटो मात्र देखेको हुन्छ।
त्यसो भए, एउटा झ्यालबाट देखिएको दृश्यलाई पूरै घर कसरी मान्न सकिन्छ?
अथवा, कुनै एक जनाको दृष्टिकोणबाट हेरेर कसैको सम्पूर्ण व्यक्तित्वको निष्कर्ष कसरी निकाल्न सकिन्छ?
हामीसँग आफ्नै विवेक छ।आफ्नै अनुभव गर्ने क्षमता छ। आफ्नै आँखाले हेर्ने अवसर छ।
तर कहिलेकाहीँ हामी आफ्नै आँखाभन्दा पहिले अरूको आँखाबाट हेर्न थाल्छौँ।
आफ्नै अनुभवभन्दा पहिले अरूको निष्कर्षलाई विश्वास गर्न थाल्छौँ।
सायद मानिसलाई बुझ्नुभन्दा, मानिसबारे बनिसकेको धारणा स्वीकार गर्नु सजिलो लाग्छ।
यो reflection लेख्दै जाँदा Oscar Wilde को एउटा भनाइ अनायास सम्झना आयो
"Most people are other people. Their thoughts are someone else's opinions..."
सायद यही कारणले धेरै पटक हामीले आफ्नै विचार बनाएको जस्तो लागे पनि, त्यो वास्तवमा अरूकै अनुभव, अरूकै धारणा र अरूकै निष्कर्षको प्रतिध्वनि मात्र हुन्छ।
मलाई लाग्छ, कुनै पनि मानिस, बारे बोल्नु अघि वा उसकाे बारेमा निष्कर्ष निकाल्नु अघि हामीले अरूको अनुभव सुन्न सक्छौँ।
तर अन्तिम निर्णय भने आफ्नै अनुभवबाट हुनुपर्छ।
किनकि कसैको दृष्टिकोण सूचना हुन सक्छ। सत्य होइन।
सायद कुनै पनि मानिसबारे हतारमा आफ्नो धारणा बनाइरहँदा हामीले केही प्रश्न आफैँलाई सोध्नुपर्छ,
हामी उसलाई आफ्नै आँखाले हेर्दैछौँ, कि अरूको दृष्टिकोणबाट?
यो मानिसबारे मेरो धारणा साँच्चै मेरो हो, कि कसैको सुनाएको कथा मात्र?
मैले उसलाई साँच्चै चिनेँ... कि केवल उसबारे सुनिएको कथालाई विश्वास गरेँ?
र सायद सबैभन्दा गाह्रो प्रश्न त यही हो
"साँच्चै... मैले पनि कतै आफ्नै आँखाले हेर्नै बिर्सिरहेको त छैन?"
किनकि मानिसलाई चिन्नुभन्दा कठिन कुरा सायद अर्को केही छैन।
र त्यसभन्दा पनि कठिन कुरा हो आफ्नो दृष्टिकोण साँच्चै आफ्नै हो कि होइन भनेर आफैँसँग इमानदार हुनु।
अरूको अनुभव, सल्लाह, सुझाव र भनाइले हामीलाई निर्णय लिन मद्दत गर्न सक्छन्।
तर अन्तिम निष्कर्ष भने आफ्नै ज्ञान, विवेक र अनुभवबाट नै हुनुपर्छ।
किनकि अरूको विचार सुन्नु ठीक हो, तर त्यसलाई जस्ताको तस्तै आफ्नै विचार बनाउनु कुनै बुद्धिमानी होइन।
—Srizanaa
#SrizanaaOnline #उधारोदृष्टिकोण #Reflection #NepaliWriting #NepaliBlog #Thoughts #HumanNature #Perspective #SelfReflection #Mindset #Relationships #Srizanaa#NepaliReaders

Comments
Post a Comment