Skip to main content

'राहत काजमी' - सम्मान र प्रेम समर्पित (Rahat Kazmi Pakistani legend Actor )


कल्पना बान्तवा
क्षणभंगुर जीवन सम्झेर हैन, उमेर बुढ्यौलीउन्मुख भएकाले पनि हैन, सारैसारै ननिको लागेको र मन भाँचिएका कारण मनमा लुकाइराखेको प्रिय मान्छेलाई अचानक बूढो भएको देखेर हो। पाकिस्तानी टेलिशंृखला 'धूपकिनारे' का युवा डाक्टर पात्रलाई हालसालै टीभीको पर्दामा ७० वर्षको भएको देख्दा मन सम्हाल्नै गाह्रो भो। उनैले भनेझैँ समय साँच्चै सबभन्दा 'जालिम' छ।
गएको साता 'धूपकिनारे' हेरेँ लगभग तीन दशकको अन्तरालमा। पहिले नै कलिलो मन–मस्तिष्कमा गहिरो छाप पारेको यो टेलिचलचित्रले संवेदना ग्रहण गर्ने तन्तु छिप्पिएको यो पालि त झन् दोब्बरतेब्बर नै छोयो। छुन त मज्जाले छोइयो, तर 'बेकारमा फेरि हेरेको!' भनेर मनले थकथकी पनि मानिरह्यो। साँच्चै न त मैले यो शंृशला फेरि हेर्थें न त डाक्टर अहमरप्रति सुषुप्तावस्थामा रहेको मभित्रको प्रेमले उनीबारे गुगलमा खोजीनीति गर्नै उक्साउँथ्यो! न त एक्कासि बृद्ध डाक्टर अहमरलाई देख्थेँ न मलाई यो पीडा नै हुन्थ्यो! ३० र्ष पुरानो उनको उही सुकुमार तस्बिर अन्तरमा सजाएर खुसीखुसी म यो लोकबाट बिदा हुँदा मेरो कल्पनामा, मेरो सम्झनामा र मेरो जीवनको अन्त्यसम्म उनी तन्नेरी नै रहिरहन्थे एक अजम्बरी सपना बनेर।


सन् १९८५ मा बनेको 'धूपकिनारे' हामीकहाँ १९८८ को दशकमा आइपुगेको थियो। पहिलो पटक टीभीमा डाक्टर अहमरलाई देख्दा, आँखाको बियाडमा सपना छर्ने उमेरको मौसमबाट गुजि्ररहेकी थिएँ। आफ्नै मन आफ्नो बसमा थिएन, कसैको मीठो हेराइमा बत्तिन थाल्थ्यो नियन्त्रण गुमेको लट्टाइँको धागोसँग बेपत्ता उडिरहेको चंगाझैँ! संसार उसैउसै रमाइलो र सुन्दर लाग्थ्यो। चाहनाका इन्द्रेणी सपना कोरल्न थालेको त्यो कट्मेरो उमेरमा डाक्टर अहमरजस्तो मानिस आफ्नो वरिपरि देखे–भेटेकी नै थिइनँ। उनको शालीन र गम्भीर व्यक्तित्वले ज्यादै प्रभाव पारेको थियो। मेरो र उनको स्वभाव ३६ अंकजस्तो थियो, एक अर्कादेखि बिलकुलै अलग। उमेरको असर पनि होला, म चुलबुले, फतरफतर बोलिरहनुपर्ने र हाँसिरहनुपर्ने प्रकृतिकी थिएँ। विपरीत ध्रुवहरू आपसमा आकर्षित हुने चुम्बकीय सिद्धान्तका कारण पनि होला, आफूमा शून्यप्रायः र उनीमा छेलोखेलो सौम्यता र भलादमीपनले खैँचेर म उनीप्रति हुरुक्क भएकी!
नेपाल टीभीबाट धूपकिनारेको प्रसारण सकियो, तर डाक्टर अहमर, डाक्टर जोया र अन्जीहरू सम्झनामा ताजै बसिरहे।
दैनन्दिनमा घटित ससाना घटनाले जीवनभरि साँचेको मान्छेका विश्वास, सोच र दृष्टिकोणलाई धुस्नो बनाएर फाँडिदिँदोरैछ। 'मेरो विचार सही हो' भन्ने अभिमानमा बाँचेकालाई बितिरहेको समयले गलत पनि साबित गरिदिँदोरैछ। अन्तिमसम्म मान्छेसँग रहिरहने त केवल भ्रम रहेछ!
मलाई लाग्थ्यो, ६०–७० वर्ष पुगुन्जेल महिला वा पुरुषभित्रको प्रेम ग्रन्थी सुकीसक्छ, र कुनै बैँसालु जोडीझैँ प्रेम गर्न र प्रेम पाउन उनीहरूलाई अलि सुहाउँदैन। विश्वप्रसिद्ध भारतीय संगीतकार तथा भारतीय शास्त्रीय संगीतका संयोजक–सितारवादक पण्डित रवि शंकर ६० वर्षका छँदा ३० वर्षकी सुकन्याले उनीसँग प्रेम गरिन्, सोही प्रेमको फलस्वरूप सन् १९८१ मा अनुष्का शंकरको जन्म भयो। रवि शंकर र सुकन्याले बिहे १९८९ मा गरे पनि उनीहरूको चिनजान १९७० को दशकदेखि नै थियो। ३० वर्ष लामो उमेरको दूरीले रत्तिभर फरक नपारेको आफूहरूको सुमधुर प्रेम–सम्बन्ध सम्झँदै सुकन्या भन्छिन्, 'पहिलो पटक उहाँको नजर ममा पर्नासाथ म प्रेमदासी बनेँ। उहाँलाई पागलपनको सीमासम्म चाहन्थेँ र मैले जे चाहेँ त्यो पाएँ।'
सुकन्याका कुरा कुनै बेला उदेक मानेर पढेकी थिएँ र मनमनै हाँसेकी पनि थिएँ। हाम्रैमा पनि दुई वर्षअघि ५० वर्षीया सेलिब्रेटीले ७० वर्षीय दुलहा रोजिन्, धेरैले जस्तो मैले पनि यो सम्बन्धलाई मायाप्रेमको विषय नठानेर सुखदुखमा एकअर्काको साथी बन्ने सम्झौतामात्र ठानेँ। तर, हैन रैछ। आफैले भोगेपछि महसुस भयो, प्रेममा उमेरको हदबन्दी लागु हुन्छ भन्ने मेरो धारणा पूरै गलत रैछ। युवा अहमरलाई जसरी अथाह प्रेम गर्थें, ७० वर्षीय उनलाई देख्दा मभित्र उसरी नै अजस्र प्रेमको मूल फुट्यो। तर, ३० वर्षपछि उनलाई देख्दा नरोकिएको मेरो आँसुले अहमर कुनै दिन बूढा पनि होलान् भनेर कहिल्यै सोचेकी रैनछु भन्ने थाहा भो। मैले आफ्नो बुवालाई, बलशाली युवाबाट सुस्तरी प्रौढ अनि बृद्धावस्थामा फेरिएको देखेकी छु। झोडा फाँडेर धानखेत बनाउने मेरी बलियी आमा, अशक्त बृद्धामा रूपान्तर भएको पनि हेरिरहेकी छु र वरिपरिका केही मानिसलाई पनि उमेरको सनासोले बिस्तारै अँठ्याउँदै लगेको देखेकी छु। स्वयं पनि त उबेलाको १६ वर्षेजस्तै कहाँ रहेँ र! देख्दादेख्दै र हेर्दाहेर्दै मान्छेको स्वरूपमा आएको ठूल्ठूला भिन्नता आँखामा उतिसारो नबि‰दोरैछ, तर सुदूर अतीतमा देखेको युवालाई दशकौँपछि हठात् बृद्धको आवरणमा देख्नु पीडादायी हुँदोरैछ।
१२ वर्षपछि खोलो फर्किन्छ रे! हो कि क्या हो! मेरो जीवनमा पनि पाकिस्तानी टेलीड्रामारूपी खोला फर्किन थालेका छन्, तर १२ वर्ष हैन झन्डै १२ तियाँ ३६ वर्षपछि। पछिल्लो केही समययता पुनः पाकिस्तानी टेलिशृंखलाहरूको अम्मली बनेकी छु। सोही क्रममा धूपकिनारे दोहोर्‍याएँ। र, डाक्टर अहमरको मायाले फेरि बिथोलिएँ। इन्टरनेटलाई धन्यवाद भन्दै डल्लै धूपकिनारे डाउनलोड गरेँ र फुर्सदमा यसका पात्रहरूको संगतमा रमाउन थालेँ। उहिले यस्तो सुबिस्ताको कल्पनै थिएन, आइतबारे साँझको एकछिनको देखभेटमै चित्त बुझाउनुपर्थ्यो। तर, त्यो छोटो भेट यति प्रभावशाली हुन्थ्यो कि बोली, व्यवहार र समग्र व्यक्तित्वसहित एक असल मानिस बनेर डाक्टर अहमर मेरो हृदयमा बसिरहन्थे। उनी साँच्चै मेरा आदर्श पुरुष थिए।

यो पालि मैले प्रविधिप्रदत्त सुविधा खेर जान दिइनँ। गुगल गरेर डाक्टर अहमरको तीन पुस्ते खोतलखातल गरेँ। पहिला उनको खास नाउँ पत्ता लाएँ, कति राम्रो नाउँ रैछ, 'राहत काजमी'। राहत काजमी टाइप गरेर गुगल गरेको त धेरै अप्सनमध्ये एउटामा त 'राहत काजमी डेथ' पनि पो देखायो। अनि त चित्तै फाट्यो, डाक्टर अहमर बितेछन् भनेर! तर, त्यो सत्य हैन रैछ, मनले ठूलो 'राहत' पायो।
उनको विकिपिडिया चाटचुट् पारेँ र गद्गद् भएँ। गुण र विशेषताका खानी नै रैछन् राहत! दुई विषयमा मास्टर्स, उच्च सरकारी ओहदाका जागिरे, कानुन पढेका, पाकिस्तानी थिएटरलाई लगभग ६५ वर्षपछि ब्युँताउने आदरणीय व्यक्तित्वमध्ये एक, कराँचीको नेसनल एकेडेमी अफ पर्फर्मिङ आर्ट्स (नापा)का कन्ट्री डाइरेक्टर, विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, सशक्त लेखक, प्रााज्ञ, टेलिभिजनका कुशल कार्यक्रम प्रस्तोता आदिइत्यादि। कराँचीको एक शैक्षिक संस्था 'एल.ए.एस'का प्रशासनिक निर्देशकका रूपमा कार्यरत उनी त्यहीँका ए लेभलका विद्यार्थीलाई अंग्रेजी साहित्य तथा नाटक पढाउँछन्।
लर्तरो मान्छेलाई मन पराएकी रैनछु भन्ठानेर दंग परेँ। उसो त धेरै पढेको उच्च पदस्थ सरकारी कर्मचारी हुनुलाई नै कुनै मानिसको असली पहिचानको कसी मान्न सकिन्न। हाम्रो वरपर त्यस्ता पढालेखा कति छन् कति! नजिकबाट नचिनेसम्म उनीहरूबारे यसै भन्न सकिँदैन। तर, राहत काजमी यति क्षमतावान् शिल्पी भैकन पनि एकरत्ति घमण्ड नभएका, माटोसँग सदैव जोडिएर साधारण मान्छे बनिरहनुमै खुसी हुने जीव रहेछन्। यी पछिल्ला जानकारीले मलाई झनै उनीनजिक पुर्‍याए। युट्युबमा उपलब्ध उनले खेलेका र बोलेका फिल्म, नाटक र सोहरू हेरीभ्याएँ।
पाकिस्तानी टेलिभिजनले बसालेको एउटा थिति मलाई सराहनीय लाग्यो। आफ्ना टेलिचलचित्रहरूले प्रसिद्धि कमाएपछि सम्बद्ध टिमद्वारा त्यो सफलताको उत्सव मनाइँदोरैछ। सिरियलका लेखक, निर्देशक र पात्रलाई निम्त्याएर टीभीमा रोचक कार्यक्रम चलाइँदोरैछ। 'जिन्दगी गुलजार है' र 'हमसफर' का कास्ट एन क्रु सम्मिलित टीभी कार्यक्रमहरूले मलाई खुब आनन्द दिएका थिए। 'धूपकिनारे'को त्यस्तै कार्यक्रम हेर्न पाउँदा मन खुसी भए पनि सोच एक तमासको बन्यो। २० वर्षपछि धूपकिनारेकी मुख्य पात्र डाक्टर जोया खान अर्थात् मरिना खानले 'मरिना मर्निङ्स' नाउँको कार्यक्रममा सो टेलिचलचित्रका पात्रहरूको जमघट गराएकी थिइन्। उमेरको अवश्यम्भावी प्रभावबाट उनीहरू कोही अछुतो देखिँदैनथे। तर, तन बूढो भए पनि उनीहरूको मन जवानै थियो। उही उत्साह र हँस्यौली–ठट्यौलीसहित धूपकिनारे निर्माणताकाका मीठा घटनाहरू सम्झेर रोमान्चित भैरहेका थिए। २० वर्षको अन्तरालमा निधन भएका केही सहकर्मीको यादमा 'नोस्टाल्जिक' बनेका थिए। त्यहीबेला हो मैले पाका राहत काजमीलाई देखेर मन अमिल्याएको! सायद उनी त्यतिखेर त्यस्तै ६० का हुँदा हुन्।
यसै साल अर्थात् सन् २०१६ अप्रिल १२ मा अनएयर भएको एउटा पाकिस्तानी टीभी च्यानलको कार्यक्रमको भिडियोमा पनि राहत काजमीलाई देख्न र उनको जीवनलाई अझै नजिकबाट चियाउन पाएँ। झन्डै डेढ घन्टाको 'द मर्निङ सो'मा राहतको आगमनपूर्व प्रस्तोता सनम बलोचले 'राहत काजमीः हामी सबैले देखेको एउटा सुन्दर सपना, जो कहिल्यै मर्ने छैन' भनेर कार्यक्रमको थालनी गरेकी थिइन्। बडो आदर र सम्मानसाथ राहतलाई पत्नी साहिरासहित स्वागत गरिरहँदा सनम बलोच घरिघरि भावुक हुन्थिन्। सनमका अनुसार राहतलाई सो कार्यक्रममा उपस्थित गराउन उनको टिमले धेरै पसिना बगाएको रहेछ। एकान्तमा मग्न रहने राहत हतपत अन्तर्वार्ता दिन नमान्दारैछन्।
कार्यक्रमभरि राहतलाई आँखा झिमिक्क नगरी हेरिरहेँ, उनलाई सुनिरहेँ र प्रेम विह्वल बनिरहेँ। यौवनको प्रथम खुड्किलोमा टेक्दै गर्दा मैले देखेको एक रुमानी सपना थिए उनी, जो सानोमा सुनेका दन्त्य कथाका तिलस्मी राजकुमारझैँ सुन्दर र प्रिय लाग्थे। ७० वर्षका उनलाई देख्दा पनि उत्तिकै मायालु र आकर्षक लागे। बितेको लामो कालखण्डले उनमा अनुभवको ओज र गरिमा थपिदिएछ। स्वस्थ तन र सुन्दर मनका धनी राहतलाई मैले आँखैले सुम्सुम्याइरहेँ। सोफामा साथै बसेकी पत्नी साहिरा काजमीको उपस्थिति र राहतको पाको उमेरले उनलाई प्रेम गर्नबाट मलाई रोक्न सकेनन्।
'माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो?' म हाम्रा बच्चुकैलाशसँग सोध्दै थिएँ, अनायास सनम बलोचका कुराले थोरै चित्त शान्त भो। उनी राहतलाई भन्दै थिइन्, 'सर! मैले हजुरलाई सानैदेखि सुन्दै, देख्दै र माया गर्दै आएँ। यतिबेला त म हजुरलाई सीमाहीन प्रेम गर्छु। यसो भनिरहँदा, हजुरलाई अगाध माया गर्ने मेरा पति र संसारभरिका मजस्ता अनगिन्ती मानिसको प्रतिनिधित्व पनि गरिरहेकी छु। हामीले यति धेरै माया गर्दागर्दै हजुर किन हराउनु भो? किन देखिनुहुन्न अचेल सिनेमा र टीभीका पर्दामा? हजुरजस्तो प्रतिभाशाली कलाकारले किन सार्वजनिक जीवनबाट सन्यास लिनु भएको?'
राहत अभिभूत भएका थिए र निशब्द बनेका थिए केहीबेर। उनको त्यो भावविह्वल अवस्था पनि औधी प्यारो लाग्यो मलाई।
सन् १९४६ जुन ३० मा तत्कालीन ब्रिटिस इन्डियाको पूर्वी पन्जाबको सिमलामा जन्मेका राहत पर्दामा झैँ वास्तविक जिन्दगीमा पनि कम बोल्ने, सरल र विनम्र रैछन्। भीडभाडदेखि टाढै बस्न रूचाउने, कहिलेकाहीँ ख्यालठट्टा गरी पनि हाल्ने, तर किताब र संगीतको दुनियाँमा रम्न ज्यादा मन पराउने राहतलाई संगीत र थिएटि्रकल आर्ट्स पढाइने आफू संलग्न पाकिस्तानको एकमात्र संस्था 'नापा' अत्यन्त प्रिय रैछ। ६४–६५ वर्षको अथक संघर्ष र अधिकारका लागि लडिएको घमासान लडाइँको उपलब्धि रैछ 'नापा'। यसमा आबद्ध जियामोइद्दिन साहब, उस्ताद सलामत हुसैन, खालिद अहमद, उस्ताद वसिर खान, तलत हुसैनजस्ता पाकिस्तानी संगीत र कलाका महान् हस्तीका कारण पनि उनी 'नापा' लाई असाध्य माया गर्दारैछन्।
सोही कार्यक्रममा सोधिएको 'जिन्दगी के हो?' को जवाफमा उनले भने, 'जिन्दगी नाकामी अर्थात् असफलता हो। संसारका बहुसंख्यक मानिससँग अहिले खाए भरे के खाने भन्ने समस्या छ। अमेरिकाजस्तो सम्पन्न ठानिने मुलुकमा कुल जनसंख्याको एक प्रतिशतको हातमा त्यहाँको ६० प्रतिशत धनसम्पत्ति छ। धेरै मानिस भोकले मरिरहेका छन् भने कसैलाई सम्पत्ति आफलताफल छ। यस्तो असमानतामा, यस्तो असन्तुलनमा यो जिन्दगी भए पनि के?'
राहत काजमीको नजरमा दौलत बे–इमानी चिज हो भने प्रसिद्धी आउने–जाने कुरा। सुन्दरता– यदि सधैँलाई हो भने ठीकै छ, शिक्षा– सबैभन्दा जरुरी। डर उनलाई केहीसँग लाग्दैन, अरुलाई खुसी देख्दा आफू खुसी हुन्छन्। एक्लोपन बहुतै प्यारो छ उनलाई। मृत्युलाई– क्या राम्रो चिज बनेको छ जुन चाँडै आउनुपर्छ भन्छन्। पियानोबारे यसरी खुल्छन्, 'दुनियाँमा सांगीतिक वस्तुहरू, आवाजदेखि बाजागाजासम्म सारै नै सुन्दर चिज हुन्।'
सपना– मर्दैनन् भन्छन् उनी पनि, भगवान्– भेट हुनेछ रे! राहत काजमीबारे भन्छन्, 'दुनियाँले मलाई मेरो योग्यताभन्दा धेरै दियो। कमसेकम मेरो हेराइमा, मलाई लाग्दैन कि मैले कुनै पनि एउटा यस्तो काम गर्न सकेँ जुन पहिले कसैले नगरेको होस्।'
आह! जीवन–जगत्लाई भलिभाँती बुझेको विद्वान् मानिस दिलको यति सच्चा र व्यवहारमा यस्तो सरल पनि हुन सक्छ यो स्वार्थी संसारमा? म लामो सुस्केरा फाल्छु र मौन बस्छु केहीबेर! राहत काजमी नाउँको प्यारो मान्छेलाई हात लम्काएर छुने तृष्णा जाग्छ ममा, तर भौगोलिक दूरी नाघ्न सक्दिनँ। उनलाई कम्तीमा यति त थाहा भैदिए हुन्थ्यो कि सुदूर टाढाको एक कुनामा, डा. जोया खानभन्दा कम उमेरकी एउटी पागलले उनलाई कुन हदसम्म प्रेम गर्छे!
पाउनुमात्र माया हैन भन्छन्, मनप्राणले चाहेको मान्छेको सुखमा खुुसी हुनु पनि माया हो रे! यसैमा सन्तोक मान्छु कि राहत आफ्नो सुन्दर तथा भरिपूर्ण परिवारमा रमेका छन्। लाखौँका प्रिय छन् र रहिरहने छन्। पत्नी, छोराछोरी र नाती–नातीनामाझ आनन्दी जीवन बाँचिरहेका राहतको सुख सदैव कायम रहोस्! उनीप्रतिको सम्मान र प्रेम बाँचुन्जेल म यसरी नै समर्पित गरिरहने छु।#czanaaa

Comments

Popular posts from this blog

The Way You Speak Matters More Than Words / शब्द भन्दा बोल्ने तरिका महत्वपूर्ण हुन्छ

  I actually don’t have any problem with being corrected; I just ask that you mind your tone and attitude when you do it . यो lines मैले social media मा भेटेको हो र यो thought   बाट inspire भएर मैले एउटा सानो Note लेख्ने कोशिश गरेको  छु । त्यो line ले मलाई एउटा simple तर deep कुरा के सम्झायो भने ,  गल्ती सच्याउनु normal हो , तर त्यो कसरी भनिन्छ भन्ने कुरा अझै important हुन्छ। This sentence expresses a very calm but clear boundary in communication. It means the person is open to feedback and correction, but they also value respect in the way it is delivered. यसलाई आधार बनाएर मैले यो छोटो लेख तयार गरेको हुँ ,  जहाँ  respect, tone    र  communication  को  importance  बारे सोच साझा गरेको छु। यो वाक्यले एउटा mature र समझदारीपूर्ण सोच देखाउँछ। यसको अर्थ के हो भने , मलाई कसैले मेरो गल्ती देखाइदियो वा सच्याइदियो भने म त्यसलाई नकारात्मक रूपमा लिँदिनँ वा रिसाउँदिनँ। म feedback वा correction स्वीकार गर्न तयार छु , किनभने म आफू...

खुशी के हो? What is happiness?

खुशी सबै मानिसका लागि फरक हुन्छ। यसको एउटै परिभाषा सबैमा लागू हुँदैन। कसैका लागि खुशी पैसा र सफलतामा हुन्छ, कसैका लागि परिवारमा। कसैले साथीहरूसँग बिताएका क्षणहरूमा खुशी भेट्छन् भने कसैले प्रकृतिको शान्तता र एकान्तमा। कसैलाई भीडभाड, रमाइलो र उत्सवहरू मन पर्छन्, अनि कसैलाई आफ्नै साथमा शान्त भएर बस्न पाउँदा खुशी लाग्छ। त्यसैले खुशीलाई एउटै तरिकाले परिभाषित गर्न सकिँदैन। यो व्यक्तिअनुसार फरक हुन्छ। मेरो लागि भने खुशी अलिकति फरक छ। फुर्सदको दिनमा वरिपरिका फूलहरूबीच पुतली उडिरहेको दृश्य हेर्नु,चराहरूको चिरबिर आवाज सुन्नु, केही क्षणका लागि जीवनको दौडधुपबाट टाढा भएर शान्तसँग बस्नु, वा आफूलाई मनपर्ने काममा भुल्नु  यी सामान्य तर सुन्दर कुराले पनि मनलाई अजीब किसिमको शान्ति र खुशी दिदो रहेछ। तर मेरो धेरै समय ल्यापटपको अगाडि बित्छ । की-बोर्डमा शब्द टाइप गर्दै, केही नयाँ खोज्दै, केही सिर्जना गर्दै, कहिलेकाहीँ केही सिक्दै, कहिलेकाहीँ पढ्दै, र कहिलेकाहीँ इन्टरनेटमा रोचक कुराहरू खोज्दै। कहिलेकाहीँ बोर पनि हुन्छु…तर त्यही भित्र कतै नयाँ कुरा discover गर्ने उत्साह पनि हुन्छ। कम्तीमा हप्तामा...

“Take a breath … and move at your own pace.” by Srizanaa

This year, rather than going around trying to understand everyone else, I will focus on understanding myself better. I don’t have to keep running to fix everything, and I don’t have to understand everything either. Sometimes, I will remind myself that it’s okay to pause and just wait. Where my mind feels tired, I will stop for a while. Where I find peace, I will choose to stay. This year, I will not run away from myself. I will accept myself as I am, while making the necessary changes to grow and move forward.  — Srizanaa This year, I will pause whenever needed, accept myself as I am, and move forward at my own pace.✨ #SelfAcceptance #MindfulLiving #PersonalGrowth #TakeABreath #MoveAtYourOwnPace #SlowAndSteady #2026Intentions #InnerJourney